२० असोज, काठमाण्डौं । बारा ४ का एमाले उम्मेदवार महमुद आलममाथि आक्रमण भएपछि शुक्रबार गृहमन्त्रालयमा बसेको आकस्मिक बैठकमा प्रहरी महानिरीक्षक कुबेरसिंह रानाले नेपाली सेनालाई समेत लाठी लिएर ड्युटीमा लगाउनुपर्ने प्रस्ताव अघि सारेका छन् ।
निर्वाचन सुरक्षा योजनाको मुख्य कार्यान्वयनकर्ता नेपाल प्रहरी प्रारम्भमै हतोत्साही र हास्यास्पद प्रस्तावसाथ सुरक्षा बैठकमा प्रस्तुत भएपछि गृहका अधिकारी आश्चर्यमा परेका छन् । प्रहरी प्रमुखको यस्तो प्रस्तावले आसन्न निर्वाचनमा उम्मेदवारको सुरक्षाप्रति गम्भीर प्रश्नसमेत खडा गरेको छ ।
सेनालाई लाठी बोकाउने मात्र होइन आक्रमणमा परेका एमाले उम्मेदवार आलमलाई निर्वाचन अवधिभर भेन्टिलेटरमै राख्नुपर्ने प्रस्तावसमेत रानाले बैठकमा राखेको भरपर्दो सरकारी स्रोतले जानकारी दिएको अन्नपूर्ण पोस्टमा खबर छ । बैठकमा गृहमन्त्री माधवप्रसाद घिमिरे, सचिव जनार्दन नेपाल, महानिरीक्षक राना, सशस्त्र प्रहरी प्रमुख कोषराज वन्त र गुप्तचर विभाग प्रमुख मोती गुरुङ तथा मन्त्रालयका सहसचिव सहभागी थिए ।
सुरक्षा निकायलाई भारतीय सहयोग
गृहमन्त्रालय र त्यसअन्तर्गतका सुरक्षा निकायका लागि भारत सरकारले सात सय ६४ वटा सवारीसाधन पठाउने भएको छ । गृहस्रोतका अनुसार ती सवारी साधन कात्तिक ३ गते नेपाल आइपुग्ने जानकारी भारत सरकारले गराएको छ । संविधानसभा निर्वाचनका लागि ८० करोड रुपैयाँ बराबरका सवारीसाधन सुरक्षा निकायलाई उपलब्ध गराउने प्रतिबद्धता अनुसार भारतले पठाउन लागेको हो ।


0 comments